दलित, जनजाति, सीमान्तकृत, विपन्न तथा पिछडिएको क्षेत्र, रामेछाप नगरपालिका वडा नं. ८, रामेछाप जिल्लाको पुरानो सदरमुकामको रुपमा परिचित रामेछाप बजारमा अवस्थित यस गौरीशङ्कर बहुमुखी क्याम्पस बि.सं. २०५७ सालमा स्थापना भएको रामेछाप जिल्लाकै ऐतिहासिक क्याम्पस हो । यस क्याम्पस अवस्थिति स्थानको समुद्र सतहदेखि १४९१ मिटर उचाई रहेको छ भने अक्षांशीय स्थिति ८६’८८” उत्तर र २७’२२” पूर्वी देशान्तर रहेको छ ।
बि.सं. २०५७ सालमा बृहत शिक्षा क्याम्पसको रुपमा स्थापना भएपनि बि.स. २०६५ सालमा मानविकी संकाय सञ्चालनको स्वीकृती प्राप्त पश्चात गौरीशङ्कर बहुमुखी क्याम्पसका रुपमा परिणत भई शिक्षा र मानविकी समूहका कक्षाहरु सञ्चालन भइरहेका छन् । वर्तमान आधुनिक वैज्ञानिक युगमा विज्ञानको चरम विकासको बढ्दो क्रमले मानव मस्तिष्कले सोच्न सकेभन्दा पनि बढी उन्नति गरिरहेको अवस्था र सम्पूर्ण मानवको आ-आफ्नो बालबच्चालाई सक्षम बनुन भन्ने चाहानाले शिक्षाप्रति बढेको चासोका कारण यस क्याम्पसमा गुणस्तरयुक्त शिक्षा प्रदान गर्ने व्यवस्था मिलाउनुपर्ने आवश्यक्ता दिन प्रतिदिन बढ्दै गईरहेको बेला विश्वविद्यालय अनुदान आयोगले नियमित रुपमा अनुदान सहयोग गरी यस भेगका विद्यार्थीहरुलाई आफ्नै गाँउमा बसी उच्च शिक्षा हासिल गर्ने महत्वपूर्ण अवसर दिईरहेको छ । जसका कारण यस भेगका बिद्यार्थीहरुलाई उच्च शिक्षा आर्जन गर्नका लागि जिल्ला बाहिर वा अन्यत्र जानुपर्ने बाध्यता टरेको छ ।
हाल यस क्याम्पसमा शिक्षा र मानविकी सङ्काय अन्तर्गत प्रथम वर्षमा ३५ जना, दोश्रो बर्षमा १४ जना, तेश्रो वर्षमा २५ जना र चौथो वर्षमा ३८ जना गरी जम्मा ११२ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन । जस अनतर्गत ५३ जना विद्यार्थीहरु शिक्षा सङ्कायमा अध्ययनरत छन भने ५९ जना विद्यार्थीहरु मानविकी सङ्कायमा अध्ययनरत छन ।
क्याम्पसको आफ्नै स्वामित्वमा रामेछाप नगरपालिका वडा नं. ७ सुकाजोरमा २-१३-२-१ रोपनी जग्गा रहेको छ । तर क्याम्पसको आफ्नै स्वामित्वको जग्गामा क्याम्पस भवन नभएकोले श्री गौरीशङ्कर माध्यमिक विद्यालय सङ्ग समन्वय गर्दै विद्यालयको भवन तथा फर्निचर प्रयोग गरी स्नातक तहको कक्षाहरु सञ्चालन हुदै आईरहेको छ ।