वागमती प्रदेश, रामेछाप जिल्ला, रामेछाप नगरपालिका वडा नं. ८, रामेछाप बजार स्थित गौरीशङ्कर बहुमुखी क्याम्पस वि.स. २०५७ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पस हो । यस क्याम्पसमा पठनपाठनका लागि मिति २०५७/८/११ गते त्रि.वि.बाट तीन वर्षे बी.एड्. कार्यक्रम र मिति २०६५/१२/४ गते बी.ए. कार्यक्रम स्वीकृत भइ सञ्चालनरत रहेको छ । यस क्याम्पस आसपासका क्षेत्रमा तामाङ, नेवार, ब्राह्मण, क्षेत्री, हायु, मगर आदिको बसोबास रहिआएको छ । यस क्याम्पसमा जनजाति, दलित, गरिब र सिमान्तकृत जातजातिका विद्यार्थीहरूको बाहुल्यता रहेको छ । क्याम्पसको स्थापना कालदेखि नै श्री गौरीशङ्कर माध्यमिक विद्यालय रामेछापसँग समन्वय गर्दै सोही विद्यालयको भौतिक स्रोत साधन प्रयोग गरी स्नातक तहका कक्षाहरू सञ्चालन गरिदै आइएको छ ।
क्याम्पसको आफ्नै स्वामित्वको जग्गामा क्याम्पस भवन समेत नभएकोले श्री गौरीशङ्कर माध्यमिक विद्यालयको भवन तथा फर्निचर प्रयोग गर्दै आइएको छ । हाल क्याम्पसको आफ्नै स्वामित्वमा रामेछाप नगरपालिका वडा नं. ७ सुकाजोरमा २-१३-२-१ रोपनी जग्गा वि.वि. अनुदान आयोग सानोठिमी, भक्तपुरबाट आ.व.२०८०/०८१ मा विनियोजित रकम र क्याम्पसको आफ्नै आन्तरित स्रोतबाट क्याम्पस भवन निर्माणका लागि प्रक्रिया अगाडी बढाइसकिएको छ । क्याम्पस भवन निर्माण कार्य सम्पन्न भइसकेपछि पठनपाठन कार्यलाई थप व्यवस्थित गर्न सकिने अपेक्षा लिइएको छ ।
यस गौरीशङ्कर बहुमुखी क्याम्पस रामेछाप बजार रामेछापमा शिक्षाशास्त्र संकाय अन्तर्गत तीन वर्षे वि.एड्. तहको कार्यक्रम स्वीकृत भई अंग्रेजी भाषा शिक्षा, नेपाली भाषा शिक्षा, गणित शिक्षा, अर्थशास्त्र शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा र विशिष्टीकरण विषयहरू अध्ययन अध्यापन हुँदै आएको भने बी.ए. कार्यक्रम अन्तर्गत नेपाली, अर्थशास्त्र, समाजशास्त्र, गणित र ग्रामिण विकास जस्ता विषयहरू पनि पठनपाठन हुँदै आएको छ । यस क्याम्पसमा नियमित रुपमा अध्ययनरत छात्रछात्राहरुको लागि आंशिक छात्रवृत्तिको पनि व्यवस्था गरिएको छ । साथै विविएस कार्यक्रम थप गर्ने लक्ष्य राखिएको छ ।
आगामी दिनमा यस क्याम्पसले भवन निर्माण, खेल मैदान, फर्निचर तथा पुस्तकालय व्यवस्थापन तथा निर्माण गर्ने लक्ष्य राखेबमोजिम उक्त कार्यहरु गर्न स्थानिय तह, प्रदेश सरकार, संघिय सरकार, अन्य संघसंस्था तथा निकायहरुसङ्ग समेत आवश्यक सहयोगका लागि अपेक्षा गरिएको छ ।
मेघप्रसाद भट्टराई
क्याम्पस प्रमुख